काठमाडौं, ७ मंसिर : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई बयान लिएर आज पोखरा फिर्ता गरिएको छ। अब शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिने तयारी छ।
जोशीलाई मंगलबार पोखराबाट काठमाडौं ल्याइएको थियो। उनको दुई दिनसम्म बयान लिएर आज पोखरा फिर्ता गरिएको हो। यसअघि यही प्रकरणमा पक्राउ परेका कुमार रम्तेललाई पनि काठमाडौं ल्याएर बयान लिएर फिर्ता गरिएको थियो।
प्रहरीले स्वर्णलक्ष्मी सहकारीबाट १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको अनुमान गरेको छ। यस प्रकरणमा ६४५ जना पीडितले जाहेरी दिएका छन्।
