मधेसका युवा खेलाडीलाई मन्त्री जयसवालको पुरस्कार

वीरगञ्ज, ३० कात्तिक : मधेस प्रदेशका खेलकुदमन्त्री प्रमोद जयसवालले यू—१९ महिला विश्वकप क्रिकेटमा छनोट भएको नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महत्तोसहित टिममा रहेका मधेस प्रदेशका अन्य खेलाडीहरूलाई जनही १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारले सम्मानित गर्ने घोषणा गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत मन्त्री जयसवालले यो जानकारी गराएका हुन्। उनले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमलाई बधाई दिँदै छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमकी कप्तान महत्तोसहितका खेलाडीहरूको मनोबल बढाउन नगद पुरस्कारसहित सम्मानित गर्न लागिएको बताएका छन्।

हालै सम्पन्न छनोट प्रतियोगितामा मधेस प्रदेशबाट नेपाली टिममा कप्तान पूजा महत्तोका साथै साना प्रबिन र एलिशा यादव सहभागी थिए। उनीहरू तीनै जनालाई मन्त्री जयसवालले नगद पुरस्कारसहित सम्मानित गर्ने घोषणा गरेका हुन्।

उक्त भिडियो सन्देशमा मन्त्री जयसवालले आगामी डिसेम्बर १५ देखि १८ तारिकसम्म मलेसियामा हुने यू—१९ महिला एशिया कप र जनवरी १८ देखि फेब्रुअरी २ तारिकसम्म मलेसियामै हुने यू—१९ महिला विश्वकपमा नेपाली टिमलाई सफलता मिलोस् भन्ने कामना पनि गरेका छन्।

मन्त्री जयसवालले मधेस प्रदेशका खेलाडीहरूको मनोबल बढाउँदै खेलकुदको विकासका लागि प्रदेश सरकारले प्रतिबद्धताका साथ काम गरिरहेको बताएका छन्।

ताजा अपडेट

Local News