दीपावलीको रौनक बढाउन वीरगन्जमा रात्रि बजार लाग्ने

वीरगन्ज, ११ कार्तिक : दीपावली पर्वलाई झनै भव्य बनाउन वीरगन्ज महानगरपालिकाले विशेष पहल गरेको छ। महानगरपालिकाले भोलि सोमबारदेखि लक्ष्मीपूजाको दिनसम्म आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म रात्रि बजार सञ्चालन गर्ने निर्णय गरेको छ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहका अनुसार, यस रात्रि बजारले वीरगन्जको अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै स्थानीयबासीलाई रमाइलो गर्ने अवसर प्रदान गर्नेछ। उहाँले भन्नुभयो, “दीपावलीको पर्वलाई मध्यनजर गर्दै हामीले यो रात्रि बजार आयोजना गरेका हौँ। यसले हाम्रो संस्कृतिलाई जोगाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नेछ।”

वीरगन्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सञ्चालन हुने यस रात्रि बजारमा विभिन्न प्रकारका खाद्य पदार्थ, स्थानीय हस्तकलाका सामग्री, लत्ताकपडा, गरगहना, र अन्य दैनिक उपभोग्य वस्तुहरूका स्टलहरू रहनेछन्। यसका साथै, नेपाली सांस्कृतिक झाँकीको प्रदर्शन र दीपावली तथा छठ पर्वसँग सम्बन्धित सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछ।

ताजा अपडेट

Local News