चिनियाँ नागरिकसँग विवाह, ८ पक्राउ

विराटनगर, ८ कात्तिक : सुनसरीको चतरास्थित एक मन्दिरमा १६ वर्षीया किशोरीको जबर्जस्ती विवाह गराउने प्रयास भएको छ। प्रहरीले उक्त घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिकसहित किशोरीका बुबा पनि छन्।

धनकुटा छथर जोरपाटी २ की १६ वर्षीया बालिकालाई चीनको हुबेलका ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराउने प्रयास भएको थियो। प्रहरीले उनीहरूलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने अन्यमा उदयपुर बेलकाका दीपक दर्जी, बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजारका शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिकाकी रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजी रहेका छन्।

प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गराउने प्रयास भएको थियो। किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गर्न सहमति जनाएको बताएका छन्। उनका अनुसार छिमेकीको छोरीको पनि चिनियाँ नागरिकसँग विवाह भएको हुँदा उनले पनि यस्तै गर्न खोजेका थिए।

चिनियाँ पक्षले किन यस्तो कार्य गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। किशोरीका आफन्तले प्रहरीलाई खबर गरेपछि उद्धार कार्य सम्भव भएको थियो।

नेपालको कानून अनुसार २० वर्ष नपुगेका बालिकालाई विवाह गराउनु कानुन विपरित हो। यस्तो कार्य गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ।

ताजा अपडेट

Local News