काठमाडौं, ७ कात्तिक : काठमाडौंमा एक महिलामाथि बलात्कार गरेको आरोपमा महानगर यातायातको बस चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार बलात्कारमा संलग्न रहेको आरोपमा सहचालक भने अझै फरार छन्।
पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला रहेका छन्। उनले चलाउने बा ५ ख ७१३३ नम्बरको बसमा गत असोज ९ गते एक महिला यात्रुलाई बलात्कार गरेको आरोप लागेको छ।
पीडित महिलाका अनुसार उनी ग्वार्कोबाट कलंकी जाँदै गर्दा उक्त बस चढेकी थिइन्। तर, चालक र सहचालकले उनलाई कलंकीमा झर्न नदिई नयाँ बसपार्क पुर्याएका थिए। त्यहाँ पुगेर उनलाई जुस खुवाएर बेहोस बनाइएको र होटलको कोठामा लगेर बलात्कार गरेको पीडितको भनाइ छ।
पीडितले भनिन्, “राति ११ बजेतिर ब्यूँझदा म होटलको कोठामा थिएँ। चालक नग्न अवस्थामा मेरो छेउमा थिए भने सहचालक भुइँमा सुतिरहेका थिए।”
महाराजगञ्ज प्रहरी वृत्तका इन्सपेक्टर सुदर्शन पन्थीका अनुसार पीडितको उजुरीका आधारमा चालक कोइरालालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। उनले भने, “सहचालक भने अझै फरार छन्। हामी उनको खोजी कार्य तीव्र पारेका छौँ।”
प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। बुधबार काठमाडौं जिल्ला अदालतमा चालक र सहचालक दुवैविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ।
अदालतले चालक र सहचालकलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिनेछ।
यस घटनाले सार्वजनिक यातायातमा महिलाहरु असुरक्षित भएको पुष्टि गर्दछ। यस्ता घटनालाई नियन्त्रण गर्न सरकारले कडा कानून बनाउनुपर्ने र सार्वजनिक यातायातमा महिलाहरुको सुरक्षाका लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।
