काठमाडौं, ७ कात्तिक : गृह मन्त्रालयले बुधबार एकैसाथ विभिन्न जिल्ला प्रशासन कार्यालय प्रमुखमा हेरफेर गर्दै गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा नियुक्त गरेको छ।
२७ भदौमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका रिजाललाई अब देशको प्रमुख प्रवेशद्वारको जिम्मेवारी दिइएको हो। यसअघि अध्यागमन विभागको नेतृत्व सम्हालिरहेका कोशहरि निरौलाको गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेको थियो।
चितवनमा पनि नयाँ सीडीओ
यसैबीच, गृह मन्त्रालयले चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा पनि परिवर्तन गरेको छ। प्रकाश पौडेललाई चितवनको नयाँ सीडीओको रुपमा पठाइएको छ भने हालका सीडीओ इन्द्रदेव यादवलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ।
गृह मन्त्रालयले यतिबेला विभिन्न जिल्ला प्रशासन कार्यालय प्रमुखमा व्यापक हेरफेर गरेको छ। यसको कारणबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
