काठमाडौं, ७ कात्तिक : सत्तारुढ दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई न्याय निरुपणको प्रक्रियामा अवरोध नगर्न चेतावनी दिएका छन्। बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले संसदीय छानबिन समितिको सिफारिसअनुसार रवि लामिछानेलाई पक्राउ गरिएको र यो प्रक्रिया कानुनसम्मत रहेको ठहर गरेको छ।
रास्वपाले रवि लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै सडकमा निरन्तर प्रदर्शन गरिरहेको छ। तर सत्तारुढ दलहरूले सडकमा भीड जम्मा गरेर न्याय निरुपणको प्रक्रियालाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई आग्रह गरेका छन्।
एमाले महासचिव शंकर पोखरेलले भने, “अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन। फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित छ।”
पोखरेलले अदालतमा विचाराधीन विषयमा सडकबाट दबाब दिन खोज्नु गलत भएको बताए। उनले भने, “संसदले नै निर्देशन दिएको अवस्थामा छानबिन प्रक्रिया अगाडि बढ्दा सहज रुप लिनुपर्छ। अहिले गरिएको छानबिनमाथि प्रश्न उठाउने अदालतमै गएको हो।”
सत्ता पक्षको कुनै आग्रह नभएको भन्दै पोखरेलले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने बताए। साथै उनले भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई आग्रह गरे।
