राष्ट्रपतिका दुई सल्लाहकार विवादित, चिरञ्जीवी जस्तै बाबुराममाथि पनि दबाब

काठमाडौं, ७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएको ५ महिना नबित्दै अर्का सल्लाहकार बाबुराम कुँवर विवादमा मुछिएका छन्। कुँवर सहकारी ठगीका मुख्य अभियुक्त जीवी राईको कोर ग्रुपका सदस्य रहेको खुलासा भएपछि उनीमाथि राजीनामाको दबाब बढेको हो।

रास्वपा पार्टीले कुँवरमाथि अनुसन्धान गर्न माग गर्दै आएको छ। रास्वपा सभापति रवि लामिछाने जीवी राईसँगको सम्बन्धका कारण अहिले कास्की प्रहरीको हिरासतमा छन्।

कुँवरले भने आफूले कानून व्यवसायीको हैसियतमा कुनै पनि व्यक्ति वा फर्मको पक्षमा पेशागत मर्यादाभित्र रहेर काम गर्नु स्वभाविक भएको र जीवी राईको ठगी शृङ्खलासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। तर, यति ठूलो विवादमा मुछिएपछि उनले राजीनामा दिनुपर्ने दबाब बढेको छ। उनी आज आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।

यसअघि, गत वैशाखमा राष्ट्र बैंकले निकाल्ने नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको विरोध गरेपछि डा। चिरञ्जीवी नेपाल विवादमा परेर राजीनामा दिन बाध्य भएका थिए। कुँवरको विवाद झनै गम्भीर भएकाले उनले राजीनामा नदिए राष्ट्रपति समेत विवादमा पर्ने भएकाले राजीनामाको दबाब परेको हो।

ताजा अपडेट

Local News