काठमाडौँ, ७ कात्तिक : नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको गलत नीतिविरुद्ध सडक संघर्ष गर्ने भएको छ। पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले कात्तिक १० गते काठमाडौँमा प्रदर्शन आयोजना गरी सरकारलाई चेतावनी दिने बताएका छन्।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले सरकारले सय दिनमा गरेका गलत कामका विरुद्धमा आवाज उठाउने बताए। उनले विशेषगरी सरकारले विद्युत प्राधिकरणमा गरेको हस्तक्षेप, ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई संरक्षण दिएको, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा बेवास्ता गरेको लगायतका विषयमा सरकारको आलोचना गरे।
सापकोटाले भने, “सरकार नाङ्गो रुपमा दलाल पुँजीपतीको पक्षमा खुल्मखुला लाग्यो। विद्युत प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका मीन बहादुर गुरुङसँग १० रोपनी जग्गा र भवनसम्म लिनेसम्म आउँदा सरकारको सुशासन छरपस्ट भएको छ।”
माओवादी केन्द्रले यसअघि पनि सरकारको गलत नीतिविरुद्ध विभिन्न दलहरूसँग मिलेर विरोध प्रदर्शन गरेको थियो।
