काठमाडौं, ६ कात्तिक : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा संघीयता कार्यान्वयन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन प्रवर्द्धनमा उल्लेखनीय प्रगति गरेको बताएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुप्ताले सार्वजनिक गरेको २५ बुँदे कार्य प्रगति विवरणअनुसार मन्त्रालयले संघीय निजामती सेवालाई व्यवस्थित बनाउन संघीय निजामती विधेयक संसदमा प्रस्तुत गरेको छ। यस्तै, स्थानीय तहलाई थप सवल बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा संशोधनको प्रक्रिया अगाडि बढाइएको छ।
जिल्ला समन्वय समितिहरूलाई प्रभावकारी बनाउन प्राविधिक जनशक्ति व्यवस्थापन गरिएको छ भने स्थानीय तहको क्षमता अभिवृद्धि गर्न एकीकृत मूल्यांकन कार्यविधि तयार पारिएको छ। साथै, विपद् व्यवस्थापनमा स्थानीय तहलाई सहयोग गर्न समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन प्लेटफर्मको विकास गरिएको छ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न मन्त्रालय र निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी सुधारका लागि पहल गरिएको छ। यसबाट २१० वटा दरबन्दी कटौती गरिएको छ।
मन्त्री गुप्ताले आगामी दिनमा पनि सुशासन प्रवर्द्धन र संघीयता कार्यान्वयनलाई प्राथमिकता दिने बताएका छन्।
