वीरगन्ज, ६ कात्तिक : लामो समयदेखि उपेक्षित रहेको वीरगन्जको नारायणी रंगशाला परिसरस्थित क्रिकेट मैदानको स्तरोन्नति कार्यले गति लिएको छ। आगामी डिसेम्बर—जनवरीमा आयोजना हुने एलिट कप क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउने प्रयास भइरहेको छ।
नेपाल क्रिकेट संघ ९क्यान० ले मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा आयोजना गर्न लागेको यस प्रतियोगितामा मधेस प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब गरी चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहका अनुसार, वीरगन्जको क्रिकेट मैदान लामो समयदेखि अलपत्र थियो। एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको पिच निर्माण थालनी गरेका छौँ।
नेपाल क्रिकेट संघमा आवद्ध बंगलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा १८ इन्च गहिराईमा पिच निर्माणको काम भइरहेको छ। अहिलेसम्म पिचको फाउण्डेसन तयार भइसकेको छ। यो मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्नेछ।
सिंहका अनुसार, पिच तयारसहित स्तरोन्नति गर्न मजदूरको ज्यालाबाहेक आठ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चार बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको यस मैदानको संरक्षणमा मुआब्जा विवाद र बजेट अभावका कारण समस्या भएको उनले बताए।
मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले मधेस क्रिकेटको उर्वरभूमि भए पनि पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै राज्यले मधेस प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।
