पोखरा, ४ असोज : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनको उपस्थितिले पोखरामा तनावको स्थिति सिर्जना भएको छ।
रवि लामिछानेलाई अदालतमा उपस्थित गराउने क्रममा रास्वपाका कार्यकर्ता र सहकारी पीडितबीच तनावको स्थिति उत्पन्न हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले दुवै पक्षलाई शान्त रहन आह्वान गरेका छन्।
रास्वपाले रवि लामिछानेलाई समर्थन गर्दै शहीद चोकमा विरोध प्रदर्शन गरेको छ भने सहकारी पीडितहरूले न्यायका लागि दबाब दिँदै राष्ट्र बैंक चोकमा जम्मा भएका छन्। दुवै पक्षले आफ्नो संख्या बलियो बनाउन आह्वान गरेका छन्।
रास्वपाका नेताहरूले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै आएका छन् भने सहकारी पीडितहरूले आफ्नो रकम फिर्ता पाउनका लागि न्यायको माग गरिरहेका छन्।
पोखरामा रहेका न्यायाधीश कृष्णजंग शाहले शुक्रबार रातारात पक्राउ पुर्जी जारी गरेपछि रवि लामिछानेलाई पक्राउ गरिएको थियो। रवि लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
