वीरगन्ज, ३ कार्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा शनिबार वीरगन्जमा व्यापक प्रदर्शन भएको छ। रास्वपाका नेता कार्यकर्ताहरूले सरकारको विरोध गर्दै जुलुस निकालेका थिए भने प्रतीकात्मक रूपमा सरकारको शव यात्रा पनि निकालिएको थियो।
सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार बेलुकी काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई पोखरा लगिएको छ। यसको विरोधमा वीरगन्जका विभिन्न स्थानबाट रास्वपाका कार्यकर्ताहरू भेला भई नाराबाजी गर्दै जुलुस निकालेका थिए।
जुलुसमा सहभागीहरूले सरकारको विरोध गर्दै लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए। उनीहरूले लामिछानेलाई झुटा मुद्दामा फसाइएको भन्दै सरकारको कदमको विरोध गरेका थिए।
रास्वपाका जिल्ला अध्यक्ष हरि पन्तले कोणसभामा बोल्दै सरकारले लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्नका लागि पक्राउ गरेको आरोप लगाए। उनले भने, “संसदीय छानबिन समितिले लामिछानेलाई निर्दोष साबित गरिसकेको अवस्थामा पनि सरकारले उहाँलाई फसाउने षड्यन्त्र रचेको छ।”
रास्वपाका केन्द्रीय सदस्य नन्दन यादवले पनि सरकारको यो कदमको विरोध गर्दै भने, “कांग्रेस–एमालेको अहिलेको सरकारले रास्वपा र पार्टी सभापति लामिछानेलाई बदनाम गर्ने षड्यन्त्र रचेर पक्राउ गरेको हो।”
