वीरगन्ज, २ कार्तिक : बाराको गण्डक नहरमा हत्या गरिएको अवस्थामा फेला परेका २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। यसै क्रममा प्रहरीले मृतककी श्रीमती मनिषा देवीलाई शंकाको आधारमा नियन्त्रणमा लिएको छ।
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका सोनारको शव गत बिहीबार बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक फेला परेको थियो। टाउकोमा चोट लागेको अवस्थामा भेटिएको शवको पोष्टमार्टम गरी परिवारलाई बुझाइएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।
सोनार गत असोज २७ गतेदेखि बेपत्ता थिए। उनी भारतीय युवक विजय कलवारसँग बाराको मुसहर्वाको मेला हेर्न गएका थिए। कलवार अझै फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मनिषा देवीलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर सोधपुछ गरिरहेको छ। घटनाको विस्तृत विवरण बुझ्नका लागि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
