बारा, २ कार्तिक : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टीका नेता—कार्यकर्तालाई बजेट बाँड्ने परम्पराको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। बाराको कलैया उपमहानगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सिंहले भने, “अघिल्ला सरकारहरूले जस्तै हामीले पनि पार्टीका कार्यकर्तालाई खुसी पार्नका लागि बजेट खर्च गर्ने छैनौँ। हाम्रो सरकार जनताको सेवामा केन्द्रित हुनेछ।” उनले योजना र बजेट वितरणमा पारदर्शिता कायम गर्दै जनताको आवश्यकताअनुसार काम गरिने बताए।
मुख्यमन्त्री सिंहले स्थानीय तहलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारबाट प्रदान गरिने शसर्त अनुदानको बजेट स्थानीय तहकै सिफारिसमा खर्च हुने व्यवस्था मिलाइने बताए। उनले प्रदेशका सबै जिल्लालाई समान रूपमा विकास गर्ने नीति अवलम्बन गरिने पनि बताए।
कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले अघिल्ला सरकारहरूले कलैया उपमहानगरपालिकासँग विभेद गरेको गुनासो गर्दै मुख्यमन्त्री सिंहसँग कलैयाको विकासका लागि सहयोगको अपेक्षा गरेका छन्।
कार्यक्रममा मुख्यमन्त्री सिंहले कलैया–१ मा निर्माणाधीन ‘टाउन हल’को अनुगमन गरेका थिए भने कलैया–२४ स्थित कृषि मेलाको उद्घाटन गरेका थिए।
