वीरगञ्ज, १३ असोज : पर्साको सिर्सिया नाकामा कपडा, किराना सामानदेखि लागूऔषधसम्मको व्यापक तस्करी भइरहेको खुलासा भएको छ। स्थानीय स्रोतका अनुसार सशस्त्र प्रहरी बलको बिओपीको संरक्षणमा यो तस्करी धन्दा चलिरहेको छ।
सशस्त्र प्रहरी निरीक्षक उद्वव पौडेलको कमान्डमा रहेको बिओपीको मिलेमतोमा गमिरा, बिनेश, घनश्याम, डाबा, मन्जु, पशुपति र रम्भु लगायतका व्यक्तिहरूले तस्करीको धन्दा चलाइरहेको बताइएको छ। यीमध्ये एक व्यक्तिले लागूऔषधको कारोबारसमेत गर्ने गरेको खुलेको छ।
एक कारोबारीका अनुसार, रम्भु नामक व्यक्तिले प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका घुमुवा र टाइगर टोलीसँग समन्वय गरी तस्करीको धन्दा चलाउने गरेका छन्। त्यस्तै, धुरूप र जितु नामक व्यक्तिहरूले कपडाको ठूलो मात्रामा तस्करी गर्ने गरेका छन्।
यसरी व्यापक तस्करी हुँदा सिर्सिया भन्सारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्षको भदौसम्ममा भन्सारले लक्ष्यभन्दा करिब १६ प्रतिशत कम राजस्व संकलन गरेको छ।
