वीरगन्ज, ९ असोज : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज वीरगञ्जमा नवनिर्मित नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय भवनको उद्घाटन गरेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा निर्माण गरिएको आत्माराम ओझा—दुखा सहनी स्मृति भवन तथा उक्त भवनमा सञ्चालित पार्टी कार्यालयको बुधबार सभापति देउवाले औपचारिक उद्घाटन गरेका हुन्।
१ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवन तीन तले छ। वीरगन्ज महानगरपालिका, विभिन्न दाता र कांग्रेसका नेताहरूको सहयोगमा सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण गरिएको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए। उनका अनुसार, भवनको शिलान्यास २०७७ सालमा गरिएको थियो। छिट्टै पार्टी कार्यालय भवन छेउको जग्गामा माटो पुरेर घेराबारका लागि पर्खाल लगाउने योजना रहेको भन्दै कुर्मीले त्यसका लागि २९ लाख रुपैयाँ बजेटको व्यवस्थापन भइसकेको जानकारी गराए।
प्रदेशसभा सदस्य श्याम पटेलले कांग्रेस पर्साको पार्टी कार्यालय भवन देशका ७७ जिल्लामै सबैभन्दा सुविधा सम्पन्न भवन रहेको बताए।
नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस सरकारका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य तथा कानुनमन्त्री अजय चौधरी, केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजाल, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, अनिल रुंगटा, उमेशजंग रायमाझी, नगिना यादव, पूर्वमन्त्री सुरेन्द्र चौधरी, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, प्रदेश सभा सदस्यहरू श्याम पटेल, शंकर चौधरी, नेता शोभाखर पराजुली, कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, कांग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक गुप्ता, जिल्ला सचिवद्वय इम्तियाज आलम र दिनेश चौधरी लगायतको उपस्थिति थियो।
