वीरगञ्ज, ९ असोज : पर्सा प्रहरीले एकै दिनमा १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालित विशेष अभियानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पर्सा जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले चलाएको अभियानमा उल्लेखनीय सफलता मिलेको पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले बताए। लामो समयदेखि फरार रहेका यी व्यक्तिहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा वीरगञ्ज–८ निवासी सन्ध्या देवी कानु, पर्सा नगिना देवी साह, अमर प्रसाद, निचुटा–५ बस्ने पारस गिरी, पकाहामैनपुर–२ का खुतिनि बादर्जी, पोखरीया–१२ का रामप्रसाद महतो धानुक र मायादेवी लगायत रहेका छन्। पक्राउ परेका अधिकांश व्यक्तिहरू कुटपिट मुद्दाका अभियुक्त रहेका छन् भने केही जालसाजी र किर्ते मुद्दाका फरार रहेका थिए।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।
