नेपाली सेनाले भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको सम्मान गर्दै

वीरगञ्ज, २८ कात्तिक : भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि मंसिर ५ गते नेपाल आउँदै छन्। नेपाली सेनाले जनाएअनुसार, उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिनेछ।

नेपाल र भारतबीच परम्परागत रूपमा एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी प्रदान गर्ने प्रचलन छ। यसै क्रममा द्विवेदीले यो सम्मान ग्रहण गर्न लागेका हुन्।

नेपाल बसाइको क्रममा द्विवेदीले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र नेपाली सेनाका प्रधानसेनापतिसँग द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गर्नेछन्। साथै, उनले सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि रहेको छ।

उपेन्द्र द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए। यसअघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए र जम्मु(कश्मीर र लद्दाख जस्ता रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रको नेतृत्व गरिसकेका छन्।

ताजा अपडेट

Local News