मधेशी खुला केन्द्रीय सदस्यमा अनिल रुंगटाको अग्रता कायमै, रामकृष्ण यादव दोस्रो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको मतगणनामा अनिल रुंगटाले अग्रता कायमै राखेका छन्।

महाधिवेशन मिडिया सेन्टरले उपलब्ध गराएको पछिल्लो मतपरिणामअनुसार रुंगटाले दुई हजार १५५ मत प्राप्त गरेका छन्। हालसम्म तीन हजार ९०० मत गणना भएको छ।

मतपरिणामअनुसार रामकृष्ण यादव एक हजार ७३८ मतसहित दोस्रो स्थानमा छन् भने डा. गरिबदास ठाकुर एक हजार ७३६ मतसहित तेस्रो स्थानमा रहेका छन्। यादव र ठाकुरबीच केवल दुई मतको अन्तर छ।

त्यस्तै, दिनेश यादवले एक हजार ५७८, जितेन्द्र देवले एक हजार ५३६, अशर्फी साहले एक हजार ५१४, अशोककुमार शाहले एक हजार ३३९, उमेशचन्द्र यादवले एक हजार ३००, मिथलेश मिश्राले एक हजार १६९ र जंगिलाल रायले एक हजार ८४ मत प्राप्त गरेका छन्।

यसैगरी, परमेश्वर साहले एक हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत पाएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मधेशी खुला पुरुषतर्फबाट तीन जना निर्वाचित हुने व्यवस्था छ। जारी मतगणनामा रुंगटाले अग्रता कायम राख्दा बाँकी दुई स्थानका लागि अन्य उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

ताजा अपडेट

Local News