राजहंस चामलमा दालको विज्ञापन गरेर उपभोक्ता झुक्याएको भन्दै महावीर एग्रोलाई २ लाख जरिवाना

वीरगञ्ज । राजहंस ब्रान्डको चामलको बोरामा दाल निःशुल्क दिने विज्ञापन गरेर उपभोक्तालाई झुक्याएको पुष्टि भएपछि वीरगञ्जस्थित महावीर एग्रोलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले बजारमा पठाइसकेको चामल फिर्ता ल्याएर सही तौल र विवरणसहित पुनः प्याकिङ गरेपछि मात्र बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ ।

प्रशासनका अनुसार महावीर एग्रोले आफ्नो राजहंस ब्रान्डको २५ केजी चामलको बोरामा ५०० ग्राम दाल निःशुल्क दिने विज्ञापन गरेको थियो । तर, चामल र दाल दुवैको तौल जोड्दा पनि कुल तौल २५ केजी मात्रै रहेको पाइएपछि विज्ञापन र वास्तविकताबीच फरक देखिएको हो । यसबाट उपभोक्ता भ्रममा परेको प्रशासनको निष्कर्ष छ ।

उपभोक्ता ठगी भइरहेको सूचनाका आधारमा गत असोज १२ गते सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापाको नेतृत्वमा खटिएको अनुगमन टोलीले महावीर एग्रोको गोदाममा छापा मारेको थियो । अनुगमनका क्रममा कैफियत भेटिएपछि उद्योगलाई तत्काल ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

त्यसपछि गरिएको थप अनुसन्धानबाट समेत अनियमितता पुष्टि भएपछि प्रशासनले थप कारबाही गर्दै कुल जरिवाना २ लाख रुपैयाँ पुर्‍याएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी थापाका अनुसार बजारमा पठाइएका सबै चामल फिर्ता ल्याएर सही तौल र विवरण उल्लेख गरी पुनः प्याकिङ गरेपछि मात्र बिक्री–वितरण गर्न निर्देशन दिइएको छ ।

प्रशासनले उपभोक्तालाई आकर्षित गर्ने विज्ञापन र वास्तविक वस्तुको तौल तथा विवरणबीच एकरूपता हुनुपर्नेमा जोड दिएको छ । साथै, उपभोक्ता अधिकार उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

ताजा अपडेट

Local News