पाकिस्तानको बलुचिस्तानमा गस्ती डुङ्गामाथि आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तस्थित ग्वादर जिल्लाको जिवाणी तटीय क्षेत्रमा दुईवटा गस्ती डुङ्गामाथि भएको आक्रमणमा परी पाकिस्तानी कोस्ट गार्डका १३ जना जवानको मृत्यु भएको दाबी गरिएको छ।

पृथकतावादी सशस्त्र समूह बलोच लिबरेसन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिँदै आफ्नो विशेष समुद्री एकाइ ‘हम्माल म्यारिटाइम डिफेन्स फोर्स’ ले कारबाही गरेको जनाएको छ।

बीएलएले बिहीबार अक्टोबर ११ मा जारी गरेको वक्तव्यमा उक्त आक्रमण आफ्नो विशेष समुद्री एकाइले गरेको दाबी गरेको हो। यद्यपि, घटनाबारे पाकिस्तानी अधिकारीहरूको आधिकारिक पुष्टि र स्वतन्त्र विवरण स्पष्ट हुन सकेको छैन।

बीएलएका प्रवक्ता जियन्द बलोचका अनुसार संगठनले सन् २०२६ अप्रिल १३ मा विशेष समुद्री विङ स्थापना गरेको थियो। उक्त एकाइले स्थापना भएकै समयमा मीलतियाब क्षेत्रमा पाकिस्तानी नौसेनाको गस्ती डुङ्गामाथि आक्रमण गरी तीन सुरक्षाकर्मीको हत्या गरेको दाबी पनि संगठनले गरेको छ।

बीएलएका अनुसार उक्त समुद्री एकाइ बलुचिस्तानको तटीय क्षेत्रको रक्षा गर्ने र पाकिस्तानी सुरक्षा निकायको जलमार्गबाट हुने आवागमन रोक्ने उद्देश्यले गठन गरिएको हो।

दक्षिण बलुचिस्तानमा अवस्थित ग्वादर बन्दरगाह पाकिस्तानका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। यो बन्दरगाह चीनको महत्त्वाकांक्षी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्गतको चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) को प्रमुख हिस्सा हो। यसमार्फत चीनले अरब सागरसम्म पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

तर, स्थानीय बलोच समुदाय र बीएलएले उक्त परियोजनाको विरोध गर्दै आएका छन्। उनीहरूले स्थानीयको जमिन अधिग्रहण गरिएको, प्राकृतिक स्रोतसाधनको दोहन बाह्य शक्तिबाट भइरहेको तथा स्थानीयले पर्याप्त रोजगारी र विकासको लाभ नपाएको आरोप लगाउँदै आएका छन्।

ग्वादरमा पाकिस्तानी सेना र सुरक्षा निकायको उपस्थिति बढ्दै जाँदा स्थानीय नागरिकमा संघीय सरकार र चीनप्रति असन्तुष्टि बढेको बताइन्छ। बन्दरगाह तथा आर्थिक करिडोरलाई लिएर उत्पन्न विवाद र पृथकतावादी गतिविधिले बलुचिस्तानलाई लामो समयदेखि द्वन्द्वग्रस्त बनाउँदै आएको छ।

ताजा अपडेट

Local News