वीरगञ्जमा सिमेन्ट उद्योगहरूले गरेको कार्टेलिङ र त्यसबाट सिमेन्टको मूल्यमा भएको अस्वाभाविक वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य रहबर अन्सारीको नेतृत्वमा आज विशाल जुलुस प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले सिमेन्टको मूल्यवृद्धिलाई लिएर चर्को असन्तुष्टि व्यक्त गर्दै सरकारको उदासीनताप्रति आक्रोश पोखेका थिए।
जुलुसमा सहभागीहरूले “मूल्य बढेको बढेयै, हामी हेरेको हेरेयै, राज्य डुब्दैछ पूरै, राज्य हेरेको हेरेयै” जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर वीरगञ्जको घण्टाघरबाट प्रदर्शन सुरु गरेका थिए। प्रदर्शनकारीहरू मुख्य चोक माइस्थान, आदर्शनगर र घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएका थिए।
कोणसभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री समेत रहेका नेता अन्सारीले निर्माण क्षेत्र ठप्प हुँदा सिमेन्टको माग घट्दा पनि उद्योगहरूले मूल्य बढाएर उपभोक्तालाई ठगिरहेको आरोप लगाए। उनले सरकार यस विषयमा मुकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरे। उनले सिमेन्ट उद्योगहरूले कार्टेलिङ गरी मूल्य बढाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको र अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको जानकारी दिए।
अन्सारीले भने, “सिमेन्ट उद्योगहरूले मिलेमतोमा मूल्य बढाएर उपभोक्तालाई मारमा पारेका छन्। यसलाई हामी कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ। सरकारले तत्काल यस विषयमा हस्तक्षेप गरी उपभोक्तालाई राहत दिनुपर्छ।”
प्रदर्शनमा सहभागी अन्य वक्ताहरूले पनि सिमेन्टको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गरेका थिए। उनीहरूले सिमेन्टको मूल्यवृद्धिले निर्माण क्षेत्रमा गम्भीर असर परेको र आम उपभोक्तालाई पनि ठूलो मर्का परेको बताए।
प्रदर्शनमा सहभागीहरूले सिमेन्टको मूल्यवृद्धि फिर्ता नभए थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका छन्। उनीहरूले यस विषयमा सरकारले तत्काल ठोस कदम नचाले थप सशक्त आन्दोलन गर्ने बताए।
