रक्तदान र प्रभातफेरीसहित भव्य रूपमा मनाइयो प्रेस सेन्टर पर्साको २१ औँ स्थापना दिवस

वीरगञ्ज, १५ माघ:
प्रेस सेन्टर नेपालले आफ्नो २१औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा रक्तदान, प्रभातफेरी कार्यक्रमहरू मार्फत यो दिवस मनाइएको हो ।

प्रेस सेन्टर पर्साको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक महिलासहित २१ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र वीरगञ्जमा आयोजित यस कार्यक्रममा प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवसहित प्रेम कुमारी अधिकारी, दीपक गौतम, अजित कुमार भुजेल, संजित गुप्ता, रञ्जित यादव, संजोग गिरी, शब्दर हुसैन, विशाल पटेल, रञ्जित पाण्डे, सलाउद्दीन अन्सारी, बलिराम यादव, अमिर मन्सुरी, कृष्णा दास, कन्हैया महतोले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेंल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले रक्तदाताहरूलाई सम्मान गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रमअघि वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरीले शहरका विभिन्न स्थानहरूमा पुगेर जनचेतना फैलाएको थियो । माईस्थान, आदर्शनगर चोक, घडिअर्वा लगायतका स्थानहरूमा पुगेको प्रभातफेरीले रक्तदानको महत्वबारे जनमानसमा सन्देश प्रवाह गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारितामा लागेकाहरू पनि समाजका अंग भएकोले सामाजिक उत्तरदायित्व बोध गर्नुपर्ने बताए । उनले रगतको अभावबारे समाचार लेख्नु मात्र पर्याप्त नहुने भन्दै प्रेस सेन्टरले आयोजना गरेको रक्तदान कार्यक्रमलाई अत्यन्त सराहनीय भने ।

खनालले पत्रकारितालाई व्यवसायिक बनाउन सबै पक्षहरूले हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले नागरिकका समस्यालाई उजागर गर्न र सुसूचित गराउने भूमिकालाई पूरा गर्ने कार्यमा एकढिक्का भएर लागेमा पत्रकारिता पनि व्यवसायिक हुने र पेशागत समस्या सृजना नहुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगेर, सेन्टरका पर्सा जिल्ला निवर्तमान अध्यक्ष एवम् पत्रकार महासंघ मधेश प्रदेश सचिव दिपक गौतम, पत्रकार महासंघ पर्साका सचिव एवम् प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान, प्रेस सेन्टरका मधेस प्रदेशका सदस्यहरू, जिल्लाका पदाधिकारी सदस्यहरू, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमद लगायतको उपस्थिति रहेको थियो ।

प्रेस सेन्टर नेपालले आफ्नो स्थापना दिवसलाई विशेष बनाउँदै रक्तदान जस्तो मानवीय कार्य गरेर समाजसेवाको उदाहरण प्रस्तुत गरेको छ । यस कार्यक्रमले पत्रकारिताको दायरा र प्रभावलाई व्यापक बनाएको छ र अन्य सञ्चार माध्यमहरूलाई पनि सामाजिक उत्तरदायित्व बोध गर्न प्रेरित गर्नेछ ।

ताजा अपडेट

Local News