नेपाल एयरलाइन्सको भाडा घट्यो

वीरगञ्ज, ६ मंसिर : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडानको भाडामा उल्लेखनीय छुट दिएको छ। निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युएईको दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा नेपाल एयरलाइन्सले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले यो निर्णय गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदा हवाई भाडा अत्यधिक बढेको गुनासो आएपछि यो निर्णय गरिएको निगमले जनाएको छ।

नेपाल एयरलाइन्सले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ।

यसैबीच, नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराएको छ।

यस निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Local News